इतीहासमा सल्यान ! (तस्बिरहरु सहित)


सल्यान जिल्लाको ईतिहास झल्काउने सानो प्रयास ।


 जिल्लाको सानो इतीहास !

 वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन नेपाल एकिकरण अभियान भित्र परेको तत्कालिन बाईसे राज्य अन्तर्गतको सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण देखिन्छ । वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिमशाहसँग श्री ५ पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीको वैबाहिक सम्बन्ध स्थापना गरी छिल्ली बिजौरी देखि पश्चिम दाङ्ग क्षेत्र कुशविर्ता नै प्रदान गरिदिएका दिए। पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुची बढेको थियो। राणकालिन अबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दी थियो। #राज्य_स्थापना वि.सं. १८०२-१८०८ मा जुम्लाका राजा सुदर्शन शाहको ताम्रपत्र अनुसार जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले जुम्लालाई सुरुवात देखी नै बाइस पाखा नामले चिनिने तथा जुम्ली जनतालाई बाइस पख्याली भनिन्थ्यो। सो समय जुम्ला राज्यको प्रभावमा रहेको र जुम्ला राज्यलाई वार्षिक कर (सिर्तो) बुझाउने सम्पूर्ण कर्णाली क्षेत्रका राज्यहरूलाई बाइसे राज्य भनिन थालिएको थियो । पश्चिमी नेपालको खस राज्य इशाको चौधौं शताव्दीको उत्तरार्द्धतिर विखण्डित भई ठाउँ ठाउँमा सामन्तहरू स्वतन्त्र हुँदै जानुले नेपालको गण्डकी क्षेत्रमा चौबिसे र कर्णाली क्षेत्रमा बाइसे राज्यहरू स्वतन्त्र राज्यका रुपमा निर्माण हुन पुगेका थिए। विशाल सिञ्जा साम्राज्यको पतन भएपछि वि.सं. १४७५ मा विलासपुर, जहारी, पल्लो मुसीकोट, बाँफी सँगै सल्यान राज्य स्वतन्त्र राज्यको रुपमा स्थापना भएको थियो । बन्दै र टुक्रिंदै जाने क्रममा राप्ती र माडी नदीको पश्चिम भेगमा बनेका बाइसी राज्यहरूको सङ्ख्या ३१ सम्म पुगेको ईतिहासमा उल्लेखित छ । #नामाकरण ऐतिहासिक कालखण्डमा तत्कालिन राजाले सल्ले भन्ने स्थानको व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा राखी शासन गर्नु बाट उसैको नामबाट सल्ले अपभ्रंश हुँदै सल्यान भएको प्रसँग प्रचलित रहेको छ भने सल्लै सल्लाका सुन्दर पहाड र थम्काहरूले अत्यधिक मात्रामा ढाकिएको यस क्षेत्रको नाम सल्लाबाट सल्यान हुन गएको हो पनि भन्ने सुनिन्छ ।


हेरौ सल्यानका ईतिहाससँग झल्काउने खालका तस्बिरहरु र केही जानकारीहरु । जुन बिभिन्न ब्यक्तित्वहरुको सहयोगमा उपलब्ध भएका हुन । उपलब्ध गराउनु हुने सबैमा हार्दिक आभार ।  

सल्यानको फालावाङ दरवार :
वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएका कोट,दरवार,किल्लाहरु अहिले राज्य वाट संरक्षण पाउन नसक्दा अस्थित्वनै मेटिन लागेको छ । बि स १८८५ मा निर्मित यो ऐतिहासिक महत्वको फालावाङ दरवार पनि उचित संरक्षणको अभावमा अब तस्विरमा मात्र सिमित हुन पुगेको छ ।

वाइसे राज्यमा पर्ने सल्यानको इतिहास लामो छ । नेपाल एकिकरणको वेला वि .स . १८४३ मा दाङ्का राजा नवल सिंह लडाइमा मारिए पछी उत्तराधिकारी दिलेर सिंहले पुरा दाङ्को राज्य सञ्चालन गर्न सकेनन् । वि .सं .१८६५ मा सल्यान राज्य नेपालमा एकिकरण हुदा दाङ् पनि नेपालमा नै मिल्न गयो । नेपाल एकिकरण पछि दाङ् सल्यान गौडाको मातहतमा रहन गयो । वि .सं . १८९४ मा सल्यानी राजाको वंशज तेज वहादुर शाह लाई राजाको पद र पश्चिम दाङ् फालावाङ्को राज्य प्रदान गरियो । त्यस पछि पश्चिम दाङ् र फालावाङ् क्षेत्रको शासन फालावाङ बाट सुरुहुन थाल्यो । नेपाल भारत असमान सुगौली सन्धि हुनुपूर्व फलावाङ्गी राजाको प्रशासनिक क्षेत्र बिशाल थियो । फलावाङ् राजाहरु रत्ननाथका भक्त थिए । सिद्ध रत्ननाथ लाई उनिहरु ले कुल देवताको रुपमा पुजा गर्दथिए । त्यसैले फालावाङ दरवारमा पनि रत्ननाथको मन्दिर वनाएका थिए । त्यतिवेला फालावाङ् राजाहरु भारतको वलरामपुर स्थित पाटनदेवी मन्दिरको पनि दर्शन गर्न जाने गर्दथिए । दाङ् घोराही स्थित चौघेरा रत्ननाथ र पाटनदेवी दाज्यु वहिनी को सम्वन्ध रहेको छ भन्ने विस्वास गरिन्छ । त्यसैले गर्दा फालावाङ् राजाहरु ले आफ्नो प्रशासन चलाउन सजिलो होस भन्नाको लागी फालावाङ्मा पुरानो दरवार,माझ दरवार र नया दरवार समेतगरी पाचबटा दरवार निर्माण गरेका थिए ।



तस्विरमा देखिएको संरचना बि स १९५७मा निर्मान सुरु गरी बि स १९६९मा सम्पन्न भएको थियो । कलात्मक स्वरुप निर्माण गरिएको यो दरवार छाउनको लागी जस्तापाता वेलायत बाट ल्याईएको थियो । १५५ झ्याल र ५५ कोठाको बेलायती शैलिको यो दरवारमा गद्दी बैठक, कचहरी बैठक, पुजा कोठ, मोठ कोठा आदी पनि छुट्टा-छुट्टै व्यवस्था गरिएका थिए । दरवार परिसरमा बि स १९६१ देखी कालिका मन्दिर र शिवालय पनि निर्माण गरिएको थियो ।



फालावाङ् राजाहरु दाङ् बाट हात्तिमा यात्रा गर्ने तुलसिपुर पातुखोला,सिरकुला हुदै ल्वामखोलाको रिगाटे को पुरानो हात्ति र घोडा हिडने सडक मर्मत संभार नहुदा अहिलेको पुस्ता लाई इतिहास बनेको छ । पुरातात्वीक हिसावले पनि फालावाङ् र थर्कोटको पहाड महत्वपूर्ण मानिन्छ । एशिया कै ठूलो उपत्यका दाङ्को गहनाको स्वरुप देखिने थर्कोट आसपासका ऐतिहासिक सम्पदाको वारेमा अध्यन अनुसंन्धान हुन सकेको छैन ।



फालावाङ्का राजाहरु भारतमा वि सं १९६२ साल देखि कोइलावास नजिक जरुवा भन्ने स्थानसम्म रेलको यातायात संन्चालन भएदेखि काठमाण्डौ अथवा भारतिय अन्य भूमिमा जादा फालावाङ्,दाङ् तुलसिपुर हुदै भारतको वलरामपुर स्थित पाटनदेवी मन्दिरमा वास वस्दै यात्रा गर्नेक्रम सुरु भयो । राज्य सञ्चालनको क्रममा ६-६ महिना दाङ् र फालावाङ् गर्नुपर्ने हुदा वि सं १९८८–९१ को विचमा हाल अञ्चल अस्पताल रहेको स्थान तुलसिपुरमा ३५ कोठाको दुईतले पक्की दरवार पनि वनाएका थिए । पछि राज्य रजौटा ऐन उन्मूलन भएपछि २०२१ सालमा ५ विघा ६ कट्ठा १२ धुर जमिन भित्रको तुलसिपुरको दरवार १ लाख ६५ हजार मा फालावाङ् राजा गेहेन्द्र वहादुर शाह ले सरकार लाई विक्री गरेका थिए । 



जनयुद्ध ताका दरवार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरवारले आफ्नो अस्तित्व गुमाउन गयो ।  दरवारको अस्तित्व नभएपनी दरवार छेउ बटुकभैरव प्रांगणमा रहेको प्राचिन लिपिबद्ध अक्षरहरुले यो क्षेत्रको प्रचिनता तथा ऐतिहासिक महत्वलाई परिभाषित गरिरहेको देखिन्छ ।
धेरै पहिलेको तस्बिर अलिक पहिलेको तस्बिर अहिले त केही पनि बाकी छैन - फालाबाङको पुतली दरबार । 

अन्तराष्ट्रिय युबा महोत्सब १९८५ को सन्दर्भमा सल्यान लुहापिङ्ग डांडालाइ खेल मैदान बनाउन श्रमदान गर्दै सल्यानीहरु । स्रोत: नेत्रलाल श्रेष्ठ

धेरै बर्ष अगाडी सल्यानको सदरमुकाम खलङ्गामाएउटा गाइजात्रे हास्य ब्यङ्ग्यको क्रमको तस्बिर । तस्बिर : बादलकुमार श्रेष्ठ ।
           



तत्कालिन राजा बिरेन्द्र तथा रानी एश्वर्य सल्यानको सुप्रशिद्ध खैराबाङ देबीको दर्शन गर्न आउँदाको  तस्बिर । 
स्रोत: नेत्रलाल श्रेष्ठ



सल्यान जिल्लामा मोटर पुर्याउन कहिले दांग त कहिले बाके तीर 2020 देखि हरेक बर्ष सप्ताह ब्यापी श्रम शिविरको आयोजना गरेर सल्यानी जनताले अनबरत श्रमदान गर्दै आएका थिए । जनताको अथक परिश्रम र पसिनाले २०३६ साल माघ २० गते खलंगामा पहिलो पटक जीप आउन संभब भयो । पहिलो पटक जीप आई पुग्दा जनताको हौसला र खुसी देख्न लायक थियो ।

कबि दामोदर बटुवा ज्यूद्वारा रचित र लयबध्द गीत आज पनि त्यसबेलाका श्रमदानीहरुको कानमा गुंजन्छ ~ 

सल्यानको ठाउमा 

सल्यानीको गाउमा 

मोटर बाटो हेर बन्दै छ ,

सल्यानीले बाटो खन्दै छ ।

घन , कोदाली बोकन 

गम्म मादल ठोकन 

सल्यानीले बाटो खन्दै छ ।

स्रोत: नेत्रलाल श्रेष्ठ



श्रीनगर - सदरमुकाम जोड्ने सडक निर्माण भएपछीको एक तस्बिर !
तस्बिर : बादलकुमार श्रेष्ठ ।
बडागाउ सल्यानको नाउला दरबार !

सल्लीबजार ( पश्चिम सल्यानको ब्यापारीक केन्द्र ) को पुरानो तस्बिर !


 नेपाल राष्ट्रिय माबी किमुचौरका प्रअ दामोदर अधिकारी अनी पृष्‍ठभुमीमा कपुरकोट बजारको पुरानो तस्बिर !


तत्लाकिन रारा वीरेन्द्र तथा रानी एश्वर्य सल्यानको सुप्रशिद्ध खैराबाङ देबीको दर्शन गर्दै गर्दाको तस्बिर 

२०४५ साल 

स्रोत: नेत्रलाल श्रेष्ठ

सल्यान क्याम्पसको पुरानो तस्बिर
तस्बिर : बादलकुमार श्रेष्ठ

सल्यानको शिक्षा क्षेत्रमा अहम भुमिका निर्वाह गर्नुभएका पुराना आदरणीय गुरुहरु क्रमश : बायाबाट - अनन्तराम आत्रेय , बलबहादुर रोका , हरीनाथ सिंह , बादलकुमार श्रेष्ठ र रामशंकर बर्मा !

कलाकारीताको क्षेत्रमा आफ्नो जिवन सुम्पेका सल्यान पिमखोलाका , सल्यानका सान वरिष्ठ लोकगाएक एबम बाध्यबाधक खर्क बहादुर बुढा र गायिका लिलावती बुढाको केही बर्ष पुरानो तस्बिर ! दायाँ र बायाँ साइडमा रहनुभएका !!

चन्द्रबहादुर डाङ्गी जन्मेको सल्यानस्थित कालीमाटीमा रहेको जन्मघर । 

बिश्वकै होचा मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं १९९६ मङ्सिर १५ गते सल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । उनी दाङको पुरनधारास्थित रिमखोलीमा स्थायी बसोबास गर्दै अाएका थिए।

तस्बिर: रेशम डिसी

(नोट : लाटाकामीको तस्बिर कतैपनि नपाइएकाले उहाँ जन्मेको स्थल सल्यानको खलंगाको तस्बिर राखिएको छ । )
को हुन लाटा कामी ?


वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए। २००७ सालको क्रान्तिका बेला थुप्रै बन्दूक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइपराइटरमा सुधार गर्ने, घण्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ-नयाँ ढंगका बनाउने कार्य गरेका थिए। उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्पशक्तिद्वारा चल्ने हेलिकोप्टरसमेत बनाएका थिए। यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचेक्र्याइले गर्दा अन्ततः अन्धो भए। औषधोपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको अत्यन्त दुःखद निधन भयो। उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ। 

- विकीपिडियाबाट साभार 



सल्यान कम्युनिस्ट आन्दोलनका हस्तीहरु नेकपा एमालेका केन्द्रिय नेता मनमोहन अधिकारीसंग !
२०५५ सालको तस्बिर 
नेकपा एमालेको दोश्रो सम्मेलनमा कैद गरिएको तस्बिर !
तस्बिर :लोकबहादुर डाङ्गी

कानुननिद एबम संबैधानिक समितीका पुर्व सभापती निलाम्बर आचार्य र उहाको बुवा सल्यान स्थित उहाँको पुर्ख्यौली घरमा !

सल्यान कपुरकोटको पहिचान बेमौषमी तरकारीको उत्पादन - तरकारी हाँट बजार .......!
केही बर्ष पुरानो तस्बिर

मौलिक सल्यानी पन्चेबाजा बजाउदै कलाकारहरु ! केही बर्ष पहिलेको तस्बिर ।।

फालाबाङ्गी राजाको तोपघर !

स्थानीयहरुका अनुसार यो तोपघरमा २ वटा विशाल तोपहरु थिए ।अहिले तोपहरु छैनन साथै अहिले यो तोप घर पनि जिर्ण बनिसकेको छ ।

लोपउन्मुख अबस्थामा रहेको राउटे समुदायहरु सल्यान बस्दाखेरीका केही दुर्लभ तस्बिरहरु !

राउटे र सल्यान शब्दमा नङ र मासुको जस्तो सम्बन्ध छ । राउटेका मुखिया मैनबहादुर शाहीका अनुसार राउटेहरु सल्यानलाई मावली थलोको रुपमा बुझ्दछन ।राउटे जातीहरु आफ्नो बस्ने स्थान परिवर्तन गर्दै हिंड्ने गर्छन् । सोहीक्रममा यो समुदायका मानिसहरु सल्यानमा केही बर्ष पहिले बसेका थिए । 

तस्बिर : सुकदेब कसेरा

सल्यान फलाबाङको चैतेमा बनाएको सल्यानी राजाको 'पुरानो दरबार ! यो दरबारको भग्नावषेश मात्र बाँकी छ । यो तस्विर वि.स.२०४८ सालमा लिइएको हो ! स्रोत : भरतराज श्रेष्ठ

तत्कालिन राजा बिरेन्द्र तथा रानी एश्वर्य सल्यानको सुप्रशिद्ध खैराबाङ देबीको दर्शन गरिसकेर फर्किदै गर्दाको तस्बिर । स्रोत: नेत्रलाल श्रेष्ठ

सल्यानको फालाबाङमा रहेको कालीदरबार नजिकै रहेको मन्दिर !

लोपउन्मुख अबस्थामा रहेको राउटे समुदायहरु सल्यान बस्दाखेरीका केही दुर्लभ तस्बिर !

राउटे र सल्यान शब्दमा नङ र मासुको जस्तो सम्बन्ध छ । राउटेका मुखिया मैनबहादुर शाहीका अनुसार राउटेहरु सल्यानलाई मावली थलोको रुपमा बुझ्दछन । राउटे जातीहरु आफ्नो बस्ने स्थान परिवर्तन गर्दै हिंड्ने गर्छन् । सोहीक्रममा यो समुदायका मानिसहरु सल्यानमा केही बर्ष पहिले बसेका थिए । 

तस्बिर : सुकदेब कसेरा

लक्ष्मीपुर सल्यानमा आयोजित सप्ताह ब्यापी आधारभुत प्रशिक्षण शिबिर ! 

उक्त शिबीरमा तत्कालीन अंचलाधिश श्री जगदीश खड्का , जिल्ला पंचायत सभापति श्री भरत पुरी , प्रमुख जिल्ला अधिकारी श्री डमरु बल्लब भट्टराई , जिल्ला पंचायत सदस्य श्री पबित्र राज न्यौपाने सहित बिभिन्न बर्गीय संगठनका सहभागि सदस्यहरु ।



स्रोत: नेत्रलाल श्रेष्ठ

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल केही बर्ष पहिले सल्यान आउदा उपहार स्वरुप दिइएको सल्यानी खुकुरी ग्रहण गर्दै !

राजा बिरेन्द्रद्वारा सम्मान एबम पुरुस्कार ग्रहण गर्नु हुँदै सल्यान खलंगा निवासी स्व.रेशम बहादुर राइ

सल्यानको फालाबाङ्ग पुतली दरबारमा स्थानीय युवाहरु तस्बिर खिचाउदै - तस्बिरमा । इतिहासमा सिमित बन्न पुगेको एक एतिहासिक धरोहर 


फालाबाङ दरबारको अबलोकन गर्दै युवाअवस्थाका बलबहादुर गिरी । उहा हाल नेकपा माले सल्यानका अध्यक्ष हुनुहुन्छ ।  
लाखे नाचका कालाकारहरु !!
सल्यानको लुहामको केही बर्ष पहिले तस्बिर !!



खैराबाङ मन्दिरमा रहेको शिलालेख !

(१९९७ कार्तिक १७ – २०७० साउन ३१)

बि स २०४५ सालमा भारतले नुन तेल लगायतका अत्यावश्यक वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको र पारवाहन सन्धी सम्बन्धी विवाद परेका बेला श्रेष्ठले लिएको अडानको निकै प्रशंसा हुने गरेको छ।  सूर्यबहादुर थापा भारत मुखी हुनु तथा लोकेन्द्रबहादुर चन्द हल्का मिजासका भएकाले पनि श्री ५ वीरेन्द्रबाट तत्कालिन समयमा नेपाल माथिको भारतको दवाबलाई टक्कर दिने क्षमतावान व्यक्तिको रुपमा प्रधानमन्त्रीको पदभार मरिचमानलाई सिंहलाई प्रदान गरिएको थियो । भारत आफनो हातमाथि पारेर सन्धि गर्न चाहन्थ्यो तर मरिचमानले भारतीय चाहना पूरा हुन दिएनन् । सन्धि नवीकरण हुन नसकेको बहानामा भारतले नेपाल आउने खाद्यान्न, पेट्रोलियम पदार्थ आदि सबैमा रोक लगायो । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ पनि के कम - भारतसंग झुकेर सन्धि गर्नुभन्दा पाकिस्तान, सिंगापुरबाट खाद्यान्न र बङगलादेशबाट हवाईजहाजबाट पेट्रोलियम पदार्थ ल्याएर भारतलाई दबाब दिन थाले । पछि अलि तलमाथि गर्दै सन्धि गर्न भारत बाध्य भयो र नेपालमा आपूर्ति सहज भयो ।

आर्थिक नाकाबन्दीका बेला भारतीय विदेश सचिव एस के सिंह नेपाल आएर नेपाली विदेश सचिव नरेन्द्रबिक्रम शाह समक्ष यस्तो सन्धिको प्रस्ताव ल्याएका थिए जसअनुसार नेपालको आर्थिक नीति, जलस्रोत नीतिलगायत सबै महत्वपूर्ण क्षेत्रमा भारतको नियन्त्रण हुन्थ्यो । सन्धिको मूल आशय नेपाललाई भारतीय प्रभाव क्षेत्रमा राख्नु थियो । तर जवाफमा प्रधानमन्त्री सिंहले एक लाइन भन्नुभयो,‘यो प्रस्तावमा केही कमेन्ट आवश्यक छैन, यो डकुमेन्टमाथि कुनै छलफल हुन सक्दैन ।


वि सं १९९७ मा सल्यानको खलङ्गा बजारमा जन्मनुभएका श्रेष्ठ २०१७ सालदेखि नै नेपाली राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ २०३० सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य, २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष र २०४३ साल जेठदेखि २०४६ साल चैतसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।



VIa : तस्बिरमा नेपाल

भूतपूर्व प्रधानमन्त्री स्वर्गीय मरिचमान सिंहको सल्यानस्थित घर हो यो दुवै । पुरानो घर पुख्यौली घर हो । नयाँमा नेपाल बैंक बसेको छ ।

२०१८ सालमा दैलेखबाट ल्याइएको यो एतिहासिक बर्सौ पुरानो मुर्ति अनि संगै शिलालेख !!
यो खलंगा गणेशथान तिर रहेको छ !
तस्बिर स्रोत : उत्सब श्रेष्ठ

सल्यान जिल्लाको पुरानो सामुदायिक पुस्तकालय - देउराली पुस्तकालय !!

सल्यानको खलंगामा अबस्थित निकै नै कलात्मक मौलिक सल्यानी घर !
यो घर पुर्व शिक्षा मन्त्री राजेन्द्र बहादुर शाहको हो ।
निकै नै कलात्मक शैलीमा निर्माण गरिएको यो घर बर्सौ पुरानो हो । घरको उचित रेखदेख अनि उचित सम्भारले यो घर अझै पनि दुरुस्तै छ ।उहिलेको बाजेको पालामा नामको चलचित्र सुटिङ गर्दा यो घरको प्रयोग गरिएको थियो ।

राजा बिरेन्द्रद्वारा सम्मान एबम पुरुस्कार ग्रहण गर्नु हुँदै सल्यान क्षेत्र न २ का पुर्व माननीय सान्सद नेत्र लाल श्रेष्ठ !

५० बर्से इतिहास बोकेको सल्यान खलंगाको कालिका मन्दिर केही बर्ष पहिले पुनःनिर्माण गरिएको छ । 


चारैतिर फोहोर मैलाको घेरा भित्र जिर्ण अवस्थामा रही आएको यो मन्दिरलाई पूर्खाको धरोहर भन्दै यसको पूनर्निर्माण गर्ने श्री ज्ञानकुमार श्रेष्ठले गर्नुभएको थियो ।  यो मन्दिरको उत्त्पतीका सम्बन्धमा यहाँ एउटा भनाइ रही आएको छ - आजभन्दा करिब १५० बर्ष अगाडी एक सिद्द महात्माले ज्ञानकुमार श्रेस्ठका पूर्खा श्री मोतिलाल श्रेष्ठलाई यी कालिका भगबती हुन भनी एउटा कालो पत्थर दिदै ठाउ समेत किटान गरेर त्यस पत्थरलाई स्थापित गर्न लगाइ एउटा ठूलो ढुङ्गाले छोप्न लगाएका थिए र एउटा मन्दिर निर्माण गरी पूजा आजाको सुरुवात गर्ने सल्लाह दिएका थिए । त्यसपछि एकाएक महात्मा बिलुप्त हुँदा महात्माको भनाइले झनै बढी महत्व पायो र मोतिलालाले तुरुन्तै मन्दिर निर्माण गर्न लगाएर पूजा आजाको सुरुवात गरेका थिए र अहिले पनि त्यही परिवारबाट यो मन्दिरको हेरचाह्, पूजा आजा तथा संरक्षण कार्य जारी छ ।

इतिहासलाई बर्तमानमा पनि जोगाइ राख्ने ज्ञानबहादुर श्रेष्ठलाई हार्दिक सम्मान ।

स्रोत : बादलकुमार श्रेष्ठ

सम्झनामा मरिचमान !

सिद्द कैलाश गुफा शिद्देस्वरीको केही बर्से पुरानो तस्बिर !

चर्चित लोकगायक एवम सल्यानी छोरा पवन वलीले गित रेकर्डिङ गर्दै गर्दाको एक पुरानो तस्बिर !

गायक वली एक जमानामा अति ब्यस्त अनि चर्चित गायक हुन । उनको घर सल्यानको बाफुखोला गाविसमा पर्दछ र हाल उनी अमेरिकामा सपरिवार बस्दछन ।


सल्यानी कम्युनिस्ट आन्दोलनका हस्तिहरु क्रमशः प्रकाश ज्वाला र लोकबहादुर डाङ्गी !
केही बर्ष पुरानो तस्बिर !!



नेपाल राष्ट्रिय माबी किमुचौर  सल्यानको स्टाफ टिचरको संयुक्त तस्बिर ।
२०४९ साल ।
PC: Damodar Sharma Adhikari

सल्यानी खुकुरी र यसको इतिहास :२०१७ सालतिर तत्कालीन राजा महेन्द्र सल्यान जिल्ला भ्रमण गर्ने क्रममा सल्यानको शितलपाटीमा आवागमन भएको थियो । त्यतिबेला राजा महेन्द्रले शितलपाटीमा सल्यानी खुकुरीको चर्चापरीचर्चा सुन्नु भयो । चर्चा सुनेपस्चात त्यस समयका चर्चित खुकुरी निर्माता तिलक बिकसंग भेट गरि उनिसंगै राजा महेन्द्र खुकुरीका लागी प्रसिद्द स्थान सल्यान सदरमुकाम खलंगाको मेचखानामा सवार हुनुभयो । र उहाले सल्यानी खुकरी बन्ने प्रकृया र निर्मित सल्यानी खुकुरीको गुणस्तर अबलोकन गरी खुकुरी निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरि १२ थान खुकुरी काठ्मान्डौ लिएर जानुभएको थियो ।  उहाँ  काठमाडौं गइसकेपछी उहाले संगै लिएर गएका १२ थान सल्यानी खुकुरीको काठमाडौंमा व्यापक प्रदर्शन गर्नुभयो । पुन: सल्यान भ्रमणको अबसरमा राजा महेन्द्रले पुर्व प्रतिबद्धता अनुरुप खुकुरी निर्माणको लागी आबश्यक सामग्री उपलब्ध गराउनु भयो । सो पश्चात् सल्यानी खुकुरीको चर्चा देशैभरी चुलियो । खुकुरीका लागि सल्यान देशकै दोश्रो प्रसिद्द जिल्ला भएतापती गुणस्तरका हिसावले सल्यानी खुकुरी देशकै पहिलो स्थानमा आउने बिज्ञहरु बताउछन । द्वन्द्वको समयमा खुकुरी उत्पादनमा रोक लगाइएकाले २०५०-२०६५ साल सम्म सल्यानी खुकुरीको चर्चा ह्वात्तै घट्न पुग्यो । शान्ति पुनः स्थापना पछि आफ्नो पुर्खाको बिडो थाम्न सल्यान खलंगाका खुकुरी निर्माताका सन्तानहरुले खुकुरी निर्माण कार्य अगाडी बढाउदै आएका छन । विशेषगरी कुनै कार्यक्रममा अतिथिलाई उपाहार स्वरुप सल्यानी खुकुरी दिइने प्रचलनल गर्दा सल्यानी खुकुरीको माग बिस्तारै बढ्दै र चर्चा चुलिदै गएको छ । (तस्बिरमा सल्यान खलंगाका खुकुरी निर्माताहरु )  तस्बिर: पुरुस्वत्तम गिरी....जानकारी : सम्रिद्द सल्यान पुस्तकमा प्रकाशित अनिल भन्डारीको सल्यानी खुकुरी बिशेष लेखबाट

एतिहासिक बालमन्दिरको पुनः निर्माण कार्य हुँदै !
केही बर्ष पहिले !!
सल्यान खलंगाको टुडिखेल नेर यो बालमन्दिर अबस्थित छ !

राजा ज्ञानेन्द्रद्वारा सम्मान एबम पुरुस्कार ग्रहण गर्नु हुँदै सल्यान खलंगा निवासी / वरिष्ठ शिक्षक बादलकुमार श्रेष्ठ !

सल्यानको मुख्य ब्यापारीक केन्द्र श्रीनगरलाई "श्रीनगर" भनी नाम दिने आदरणीय शन्तविर राई !
हार्दिक सम्मान

यसरी सकियो फालाबाङ दरबार !

पुतली दरबार क्रमिक रुपमा लाजदरबार बन्दै गर्दाको तस्बिर !
ढल्दै गयो पुतली दरबार !
हामी सल्यानीले निरीह बनेर हेरीरहिम !!



सल्यानको सबैभन्दा पुरानो बिद्यालय त्रिजमाबी लुहापिङ्ग सल्यान । स्रोत:नेत्रलाल श्रेष्ठ

कपुरकोट सल्यानको २०३८ सालको फोटो !
सेवाकेन्द्र तिरको 
PC: Damodar Sharma Adhikari

२०५७ सालको एसएलसीमा सर्बोत्कृस्ट अङ्क ल्याउने सल्यानी बिद्यार्थीहरुको सम्मानमा आयोजित अभिनन्दन कार्यक्रम !
तस्बिर : मनोजकुमार सिंह

जनआन्दोलन २०४७ सालको क्रममा सल्यान कारागार भित्र नाचेर रमाउदै सल्यानका नेताहरु !
तस्बिर:डिल्लीराज रेग्मी

खैराबाङ भगवती मन्दिरको अति पुरानो तस्बिर !
तस्बिर : राजेन्द्र केसि

शिवजन माबी शितलपाटी सल्यानको एक पुरानो तस्बिर ।
तस्बिर : बादल कुमार श्रेष्ठ

उतीबेला लुहापिंग खलङ्गामा रानी पोखरी थियो रे । यो लुहापिंगको रानी पोखरी श्रम शिबिर संचालनको क्रममा समाधिष्ट भएको रहेछ ।
रानीपोखरी सँगै पूर्व माननिय नेत्रलाल श्रेष्ठ ।

अन्तराष्ट्रिय युबा बर्ष १९८५ समन्वय समिति सल्यान द्वारा शुभारम्भ युबा श्रम शिबिर।
उक्त शिबिरले लुहापिङ्गको डाडोलाई सम्म्याएर हालको लुहापिङ्ग फिल्ड निर्माण गरेको थियो । 
स्रोत : नेत्रलाल श्रेष्ठ

यिनी हुन् - सल्यान खलंगाका सुरदास गन्धर्ब । जो जन्मजात रुपमा दृष्‍टिबिहिन थिए र जीवन निर्बाह्का लागि उनी अर्काको सहारामा घुम्दै सारङ्गि बजाउदै मीठो स्वरमा गीत गाउथे । उनको मीठो स्वरमा गित नसुन्ने कमै सल्यानी छन होला । निकै प्रतिभावान उनी अहिले हामीमाझ छैनन ।  हार्दिक स्रदासुमन। 

शिवमन्दिर - पुतली दरबार नजिकै रहेको !!
केही मात्र अंश बाकी छ यस शिवमन्दिरको ।

खलंगा दरबारको पुरानो तस्बिर !
नेवबहादुर मल्ल राजाको ।
तस्बिर : Ramesh Kumar Oli

सल्यान रानीकोटको पुरानो तस्बिर
२०४२ सालको 
तस्बिर : प्रेम भण्डारी

जिप्रका सल्यान मुनी रहेको महाकबी लक्ष्मी प्रशाद देवकोटाको सालीक निर्माण हुँदै गर्दाको तस्बिर !
स्रोत: नेत्रलाल श्रेष्ठ

एतीहासिक दसैं घर । फालाबङ दरबार । यो जिर्ण अवस्थामा छ - यतीबेला । 

लुहामबजार , इप्रका लुहाम नजिकै अबस्थित १३० बर्से पुरानो मौलिक कलात्मक घर !
उक्त घरलाई उचित मेन्टिनेन्स गरिदै आजसम्म पनि जोगाइएर राखिएको छ ।
तस्बिर : Bharat Raj Shrestha

राजा बिरेन्द्रद्वारा सम्मान एबम पुरुस्कार ग्रहण गर्नु हुँदै सल्यान लेखडाङ्ग्री निवासी स्व. समशेर बहादुर चलाउने !

चन्द्रबहादुर डाङ्गी सल्यानमा जन्मेका थिए !!

बिश्वकै होचा मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल डाँगीको जन्म वि.सं १९९६ मङ्सिर १५ गते सल्यानको रामपुरस्थित कालीमाटीमा भएको थियो । उनी दाङको पुरनधारास्थित रिमखोलीमा स्थायी बसोबास गर्दै अाएका थिए। सामान्य लेखपढ गर्न मात्र जान्ने चन्द्रबहादुर मादल र बाँसुरी बजाउन शौखिन थिए । उनी दोहोरी गाउन पनि खप्पिस थिए ।डाँगीले २०६८ फागुन १४ गते विश्वकै होचा व्यक्तिको प्रमाण पत्र पाए । लन्डनबाट आएका गिनिज बुकका प्रधान सम्पादक क्रेग ग्लिन्डेले डाँगीको उचाइ ५४.६ सेमी भएको प्रमाणित गरेका थिए । उनको उचाई १ फिट साढे नौं इन्च अर्थात ५४. ६ सेन्टिमिटर थियो । उनको तौल १५ किलो मात्र थियो । बिश्वकै होचा ब्यक्तिको रुपमा रेकर्ड राख्न सफल डाङ्गीको सेप्टेम्बर २०१५मा अमेरीकाना दु:खद निधन भएको थियो ।
सल्यानमा भद्रकाली देवीको मन्दिर 

सल्यानमा भद्रकाली देवीको ऐतिहासिक पृष्ठभूमीलाई संक्षेपमा सरसरती हेर्दा -

भद्रकाली सल्यानी राजाको इष्टदेवीको रुपमा पूजित देवी हुन् । सल्यान फलाबाङ स्थित सल्यानी राजाको दरवार सेरोफेरो भित्र सम्मानित रुपमा रहेको मूर्ती कसरी सल्यान खलङ्गामा आयातित भयो भन्ने सम्बन्धमा यहां एउटा किंबदन्ती प्रचलनमा रहेको पाइन्छ । किंबदन्ती अनुसार "राजाको दरवारमा नियुक्त पूँजारी (पुरोहित) खलङ्गा बडाखोला निबासी थिए रे, समयबित्दै जाने क्रममा पुरोहित बेला बखत घरमा आउदा उनी पुग्नु अगावै मूर्ती उनको घरमा आइ पुगेको हुन्थ्यो रे र फेरी पुरोहित दरवार जादा उनी दरवार पुग्नु अगाडी नै दरवार पुगिसकेको हुन्थ्यो रे, धेरै पटक यस्तो घटना घटीरहदा तत्कालिन राजा साह्रै अचम्भित हुन पुगेछन् र राजाले त्यसपछि तिम्रै घरमा राखी पूजा अर्चना गर्नु भनी उक्त मूर्ती (हराएको) पुरोहितको जिम्मा लगाइ दिए रे..........." त्यसपछी मूर्ती पुरोहितको घरमा अर्थात फलाबाङ दरवारबाट सल्यान खलङ्गामा सदाको लागि आयातित हुन पुग्यो भन्ने भनाइ रहेको पाइन्छ ।

फोटोमा मूर्ती प्रतिस्थापन गर्ने कर्ममा संलग्न ब्यक्ती सल्यानी राजाका बंशज बीर बिक्रम शाहका जेष्ठ सुपुत्र अशिम शाह हुन् ।






फालाबाङ्गको पुतली दरबार रहेको स्थानको हालको अवस्था । यही नेर केही बर्ष अघीसम्म पनि हाम्रो धरोहर एतिहासिक पुतली दरबार उभिएको थियो । तस्बिर : प्रकाश बाबु चन्द 
तल देखिएको चाँही दरबारको भण्डार घर । जुन हाल भग्नाबसेश अवस्थामा छ । तस्बिर : प्रकाश बाबु चन्द 



नजिकबाट भण्डार घर ! तस्बिर : प्रकाश बाबु चन्द 

नजिकबाट भण्डार घर ! तस्बिर : प्रकाश बाबु चन्द 

नजिकबाट भण्डार घर ! तस्बिर : प्रकाश बाबु चन्द 

फालाबाङ्गी राजाको एतिहासिक दसैं घर सँगै एतीहासिक मन्दिर ।  तस्बिर : प्रकाश बाबु चन्द

दसैं घर सँगै रहेको एतीहासिक मन्दिर ।  तस्बिर : प्रकाश बाबु चन्द

यि अब त्यही माटोको थुप्रो मात्रै बाँकी छ पुतली दरबारको नाउमा !तस्बिर : प्रकाश बाबु चन्द 


१ बर्षको पहिलेको त्यो ' जिल्लाको ईतिहास बुझ्ने ' उत्सुक्ता यतिबेलासम्म आइपुग्दा ७० वटा जिल्लाका इतिहास बोकेका तस्बिरहरु र तस्बिरमा रहेको सम्पदाको बारेमा धेरथोर जानकारीसम्म दिने सक्ने अवस्थाको भएछ । धन्यबाद तस्बिरहरु उपलब्ध गराउनुहुने महानुभावहरुलाई । साथै कतीपय तस्बिरहरु मैले बिभिन्न ब्यक्तीहरुको फेसबुकबाट पनि तानेको छु । जती तस्बिरहरुमा स्रोत खुलाइएको छैन । ति सब फेसबुकबाट धेरै समय अघी सेभ गरेको हुनाले कत्तीको नाम सम्झे , कत्तीको नाम बिर्सें । सम्झे जतीको नाम तस्बिर स्रोतमा उल्लेख गरेको छु । अनी जती तस्बिरहरुमा 'तस्बिर स्रोत' खुलेको छैनन , ति तस्बिरहरु हजुरहरुमध्य कसैका हुन भने भन्नु होला है ।
अनी तपाइहरुसँग पनि जिल्लाको ईतिहास झल्किने खालका पुराना तस्बिरहरु छन भने पठाउनुहोला । सल्यानको बर्तमानको पाटोलाई मात्र नभएर भुत/इतीहासको पाटोलाई पनि उजागरण गरी सल्यानको गर्वीलो ईतिहास झल्काउनु हामी सल्यानीको दायित्व हो । र जोगाउनु हाम्रो कर्तब्य हो ।
धन्यबाद ।
                                                                  धुर्वराज वली 
फेसबुक आइडी :  https://www.facebook.com/DRdhurva

Comments

Post a Comment

धेरै हेरिएका !

SALYAN - A NEW TOURISM DESTINATION IN NEPAL !

ईतिहासमा सल्यान ( तस्बिरहरु )